• फिचर

    फिल्म छायांकनमा सिफ्ट सिस्टम लागू गर्ने नेफ्टाको निर्णय

    avatar
    Cine Desk

    An editor at cineSaptahik


    • March 31, 2023
    • 132 पटक पढिएको

    काठमाडौं– चलचित्र प्राविधिक संघ (नेफ्टा) ले आगामी वैशाख १ गतेदेखि लागू हुने गरि छायांकनमा सिफ्ट सिस्टम कार्यान्वयनमा ल्याउने भएको छ । फिल्म प्राविधिकको छाता संस्थाले उक्त मितिदेखि १२ घण्टाको सिफ्ट सिस्टम तोक्दै प्राविधिकलाई काम गर्न अनुमति दिने निर्णय गरेको हो ।अध्यक्ष पुष्कर लामाले अन्तर्राष्ट्रिय फिल्म उद्योगमा कार्यरत श्रमिकको अभ्यासलाई हेरेर नेपालमा पनि यस्तो व्यवस्था लागू गर्न लागिएको बताए । जसअनुसार अब नेपाली प्राविधिकले बिहान ७ देखि बेलुका ७ बजेसम्म र बिहान ९ बजेदेखि राति ९ बजेसम्मको १२ घण्टे तालिकाअनुसार काम गर्नु पर्नेछ ।अतिरिक्त समय काम गर्नुपरे निर्माताले प्राविधिकलाई थप पारिश्रमिक दिनु पर्नेछ । नेफ्टाको हालै बसेको कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो ।सिफ्ट प्रणाली कार्यान्वयन गर्नको लागि निर्माता संघ र चलचित्र संघजस्ता सम्बद्ध निकायसँग नेफ्टाले सहकार्य गर्ने पनि अध्यक्ष लामाले जनाए । विदेशी फिल्म उद्योगमा भने ८ घण्टाको नियम अभ्यासमा छ ।

    नयाँ वर्षदेखि नै नेफ्टाले अर्को नियम पनि ल्याउँदैछ जसले स्वदेशी प्राविधिकलाई लाभ मिल्ने अपेक्षा गरिएको छ ।नेपालमा छायांकन गर्न आउने विदेशी फिल्मले अनिवार्य ६५ प्रतिशत नेपाली प्राविधिक राख्नुपर्ने र नेपालमा छायांकन गर्दा नेफ्टासँग अनुमति लिनु पर्नेदेखि सहकार्य गर्नुपर्ने नियम पनि ल्याउने तयारी छ ।‘छिमेकी मुलुकमा फिल्म छायांकनलाई जाँदा त्यहाँका एसोसिएसनसँग सहकार्य गर्नुपर्ने नियम छ । सोही नियमलाई हामीले नेपालमा समेत थालनी गर्न लागेका हौं’ उनले भने । वैशाख १ गतेदेखि नै नेफ्टाको सदस्यता नलिने प्राविधिकले काम गर्न नपाउनेदेखि संस्थाबाट सुविधा पनि नपाउने भएका छन् । ‘प्राविधिकको हकहित र सुरक्षालाई ध्यानमा राख्दै दैनिक आइपर्ने समस्यालाई न्यूनीकरण यो नियम ल्याउन लागेका हौं’ अध्यक्ष लामाले भने– ‘अब कार्ड भएकाले मात्र काम गर्न पाउने समझदारी भएको छ । कार्ड बनाएर काम गर्दा प्राविधिक र निर्मातालाई दुबैलाई सजिलो हुने हाम्रो आशा छ । भोलि तलमाथि हुने परिस्थितीमा निर्मातालाई पनि लाभदायक हुनेछ ।’गत महिना लगातार तेस्रो कार्यकालमा अध्यक्षमा निर्वाचित भएका लामाले प्राविधिकको हकहित र फिल्मको अन्तर्राष्ट्रियकरणलाई प्रमुख एजेण्डा बनाएका छन् । यसबाहेक प्राविधिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनेदेखि प्राविधिको क्षमता अभिवृद्धि गर्ने तथा अवार्डमार्फत विदेशमा नेपाली फिल्मको बजार खोज्ने उनका अन्य योजना छन् ।

    Facebook Comments