
युएनए मार्फत विश्व बजारमा नेपाली चलचित्रको पहुँच
नेपाली डिजिटल मनोरञ्जन उद्योगमा नयाँ अध्याय थप्दै ‘युएनए डिजिटल’ ओटीटी प्लेटफर्मको औपचारिक शुभारम्भ गरिएको छ। शनिबार आयोजित समारोहमा माननीय सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलज्यूले ओटीटी प्लेटफर्मको उद्घाटन गर्नुभएको हो।
लामो समयदेखि जापानमा नेपाली फिल्म वितरण गर्दै आएका उज्वल गुरागाईंको समूहले ‘युएनए डिजिटल’ओटीटी सञ्चालनमा ल्याउने भएका छन्। शनिबार काठमाडौंमा एक कार्यक्रमका बीच सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा नेपाल सरकारका प्रवक्ता जगदीश खरेल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले संयुक्त रूपमा ओटीटीको शुभारम्भ गरे ।
युएनए डिजिटलका सीइओ गुरागाईंका अनुसार दर्शकले माघ १८ गते (१ फेब्रुअरी)देखि ओटीटीमा फिल्म, शो र कम्पनी आफैं बनाएका ओरिजिनल सिरिज हेर्न पाउनेछन् । एप्पलको आइओएस र गुगल प्ले स्टोरसहित ब्राउजर र टिभी संस्करणमा उपलब्ध हुने ओटीटीको सब्सक्राइब शुल्कबारे केही दिनमा जानकारी गराइने उनले बताए ।
कन्टेन्टमाथि ६ करोड रुपैयाँ लगानीसहित सञ्चालनमा आउन लागेको यस ओटीटीमा अभिनेता सलोन बस्नेतको फिल्म ‘रुम नम्बर १०८’देखि ‘सम्बन्ध तिम्रो मेरो’, ‘क्राइम इन स्टोरी’, ‘काठमाडौं नाइट’, ‘चोइज’ जस्ता सिरिजहरू रिलिज हुने जनाइएको छ । नेपाल र विदेशका लागि अलग–अलग ‘ओटीटी विन्डो’सहित क्रमशः कन्टेन्ट ल्याउने योजनामा युएनए डिजिटल छ । अब युएनए युनिभर्श अन्तर्गत रहेको मोबाइल थियटर मार्फत विश्व बजारमा नेपाली चलचित्रको पहुँच हुनेछ l
